37
1 याकूब आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा बस्दथे ।
2 याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए । सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए । उनी आफ्ना बुबाका उपपत्नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए । योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए ।
3 इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्त्र बनाइदिए ।
4 उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।
5 योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।
6 उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्नुहोस् ।
7 हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ”
8 उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्चै हामीमाथि शासन गर्नेछस्? के साँच्चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।
9 उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।”
10 आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?”
11 उनका दाजुहरूले उनको ईर्ष्या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।
12 उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।
13 इस्राएलले योसेफलाई भने, “के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र? आऊ, र म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु ।” योसेफले तिनलाई भने, “म तयार छु ।”
14 तिनले उनलाई भने, “अहिले नै जाऊ र तिम्रा दाजुहरू र बगाल ठिकै छन् कि छैनन् हेर, र मकहाँ खबर ल्याऊ ।” यसैकारण याकूबले उनलाई हेब्रोनको बेँसीबाट बाहिर शकेममा पठाए, अनि उनी त्यहाँ गए ।
15 एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । त्यस मानिसले उनलाई सोधे, “तिमी के खोजिरहेका छौ?”
16 योसेफले भने, “म मेरा दाजुहरूलाई खोजिरहेको छु । उहाँहरूले बगाल कहाँ चराउँदै हुनुहुन्छ कृपया मलाई बताउनुहोस् ।”
17 त्यस मानिसले भने, “तिनीहरू यस ठाउँबाट गइसके, तर मैले तिनीहरूले यसो भनेका सुनेको थिएँ, ‘हामी दोतानतिर जाऔँ ।’ ” योसेफ आफ्ना दाजुहरूका पछिपछि गए र तिनीहरूलाई दोतानमा भेट्टाए ।
18 तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे ।
19 उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्न-दर्शी आउँदै छ ।
20 अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ । हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।”
21 रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए । उनले भने, “हामी त्यसको प्राण नलिऔँ ।”
22 तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ । मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ ।”
23 जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्त्र च्यातिदिए ।
24 तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए । त्यो खाडलमा पानी थिएन र त्यो सुक्खा थियो ।
25 तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।
26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा?
27 आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने ।
28 मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे ।
29 पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।
30 उनी आफ्ना दाजुभाइहरूकहाँ फर्के र भने, “त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?”
31 तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्त्र लिएर त्यसलाई रगतमा चोपे।
32 त्यस वस्त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “हामीले यो भेट्टायौँ । कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस् ।”
33 याकूबले आफ्ना छोराको लुगा चिने र भने, “यो त मेरो छोराको लुगा हो । उसलाई जङ्गली जनावरले खाएछ । योसेफलाई पक्कै पनि त्यसले टुक्रा-टुक्रा पार्यो होला ।”
34 याकूबले आफ्ना वस्त्र च्याते र आफ्नो कम्मरमा भाङ्ग्रा लगाए । तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे ।
35 तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे । तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्नेछु ।” उनका बुबा उनको निम्ति रोए ।
36 मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्तान पोतीफरका हातमा बेचिदिए ।