25
हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ । किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ । यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्‍नेछन् । किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्‍ने घर र तापबाट बच्‍ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो, र सुख्‍खा जमिनको ताप जस्‍तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ । यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ । उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्‍नुभएको छ । त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं । 10 किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ 11 पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ । 12 तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।