49
ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन ! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ । उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो ठोक्रोमा लुकाउनुभएको छ । उहाँले मलाई भन्‍नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्‍नो महिमा देखाउँछु ।” तर मैले जवाफ दिएँ, “मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्‍वरसँग छ ।” अब परमप्रभु बोल्‍नुभएको छ—उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्‍मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको छ र मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको छ— अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् ।” जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।” परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु । तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्‍नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ । 10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्‍नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ । 11 तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।” 12 हेर, यिनीहरू टाढाबाट, कोही उत्तर र पश्‍चिमबाट आउनेछन् । अनि अरूचाहिं आश्‍वासनको देशबाट आउनेछन् । 13 ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ । 14 तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।” 15 “के स्‍त्रीले आफ्‍नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन । 16 हेर, मैले तेरो नाउँ आफ्‍नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् । 17 तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् । 18 वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् । 19 तँ उजाड र निर्जन, भग्‍नावशेषको देश भए पनि अब बासिन्दाहरूका निम्ति तँ अति सानो हुनेछस् र तँलाई नाश पार्नेहरू टाढा हुनेछन् । 20 शोकको अवधिमा जन्‍मेका छोराछोरीले तैंले सुन्‍ने गरी भन्‍नेछन्, 'यो ठाउँ हाम्रा निम्ति साँगुरो हुन्छ, ठाउँ तयार पार, ताकि हामी बस्‍न सकौं ।' 21 तब तैंले आफैलाई सोध्‍नेछस्, ' मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो ? म शोकमा र बाँझी, निर्वासित र त्‍यागिएकी थिएँ । यी छोराछोरीलाई कसले हुर्कायो? हेर, मलाई एक्‍लै छोडिएको थियो । यिनीहरू कहाँबाट आए ?’ ” 22 परमप्रभु परमेश्‍वरले यसो भन्‍नुहुन्छ, “हेर्, जातिहरूतिर म आफ्‍नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्‍नो संकेतको झन्डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा र तेरी छोरीहरूलाई आफ्‍ना काँधमा बोकेर ल्याउनेछन् । 23 राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्‍ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । मेरो आशा गर्नेहरू लज्‍जित हुनेछैनन् ।” 24 के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ, वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ? 25 तर परमप्रभु यसो भन्‍नुहुन्छ, “हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुट्टाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीलाई बचाउनेछु । 26 तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्‍नै रगले दाखमद्यले झैं मात्‍नेछन् । तब म परमप्रभु, तेरो मुक्‍तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्‍वर हुँ भनी सारा मानवजातिले जान्‍नेछन् ।”