32
त्‍यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्‍नो दृष्‍टिमा तिनले आफूलाई धर्मी ठहराए । त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए । तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए । अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्‍नलाई पर्खिरहेका थिए । तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो । तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ । त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्‍ने आँट गरिनँ । मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ । तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ । महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् । 10 यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्‍नुहोस् । म पनि तपाईंहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।’ 11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें । 12 वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्‍वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन । 13 'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन । 14 किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ । 15 यी तिन जना मानिसका बोली बन्‍द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्‍नलाई एउटै शब्द पनि छैन । 16 तिनीहरू बोल्‍दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू ? 17 अहँ, म पनि आफ्‍नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु । 18 किनकि मसँग जवाफ धेरै छन् । मभित्र भएको आत्माले मलाई बाध्य पार्छ । 19 मेरो छाती फुल्‍दै गरेको दाखमद्यझैं भएको छ जसको प्‍वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ । 20 म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्‍नो ओठ खोल्नेछु, र बोल्नेछु । 21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु । 22 किनकि त्‍यस्तो दर्जा कसरी दिने हो म जान्‍दिनँ । मैले त्यसो गरें भने, मेरा सृष्‍टिकर्ताले मलाई चाँडै लैजानुहुन्‍छ ।