10
अबीमेलेकपछि, एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस, दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए । तिनले तेईस वर्षसम्म इस्राएलको न्याय गरे । तिनी मरे र तिनलाई शामीरमा दफन गरियो । तिनी पछि गिलादी याईर आए । तिनले बाईस वर्षसम्म इस्राएलको न्याय गरे । तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ । याईर मरे र उनलाई कामोनमा दफन गरियो । इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् । इस्राएलप्रति परमप्रभु रिसले क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा र अम्मोनीहरूका हातमा बेचिदिनुभयो । तिनीहरूले त्यस वर्ष इस्राएलका मानिसहरूलाई थिचोमिचो गरे अत्‍याचार गरे, र अठार वर्षसम्म तिनीहरूले यर्दनपारी एमोरीहरूको देश अर्थात् गिलादमा भएका सबै इस्राएलीमाथि अत्‍याचार गरे । त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए । 10 तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, किनभने हामीले आफ्‍ना परमेश्‍वरलाई त्यागेका छौ र बाल देवताहरूको पुजा गरेका छौं ।” 11 परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू, 12 र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे । तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ । 13 तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन । 14 जाओ र तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।” 15 इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।” 16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन । 17 अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले । 18 गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो? ऊ नै गिलादमा बस्‍ने सबैका अगुवा हुनेछ ।”