4
1 तर यो कुराले योनालाई अप्रसन्न बनायो र तिनी धेरै रिसाए ।
2 यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्नुहुन्छ ।
3 यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ ।”
4 परमप्रभुले भन्नुभयो, “के तँ यति धेरै रिसाउनु ठिक हुन्छ र?”
5 तब योना त्यस सहरबाट बाहिर गए र सहरको पुर्वपट्टि बसे । त्यहाँ उनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे जसले गर्दा त्यो सहरलाई के हुँदोरहेछ भनी तिनले हेर्न सक्थे।
6 परमप्रभु परमेश्वरले एउटा बिरुवा उमार्नुभयो र त्यसलाई योनाको माथि बढाउनुभयो, जसले गर्दा तिनको कष्ट कम गर्न त्यसले तिनको शिरमा छाया प्रदान गरोस् । त्यो बिरुवाको कारणले योना असाध्ये खुशी भए ।
7 तर अर्को बिहानीको सुर्योदयमा परमप्रभुले एउटा कीरा खटाउनुभयो । त्यो बिरुवालाई त्यसले काटिदियो, र त्यो बिरुवा सुक्यो ।
8 अर्को बिहानी सुर्योदय हुँदा यसो भयो । परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो । अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्यो र उनी मुर्छै पर्न लागे । तब योनाले आफू मर्न पाए हुन्थ्यो भनी इच्छा गरे । तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ ।”
9 तब परमप्रभुले योनालाई भन्नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्छ ।”
10 परमप्रभुले भन्नुभयो, “तैंले मेहनत नै नगरेको, र तैंले नहुर्काएको बिरुवाको तँलाई यति धेरै माया लाग्यो । त्यो एक रातमै बढ्यो र एक रातमै मर्यो ।
11 यसैले मेरो बारेमा, क मैले त्यो ठुलो सहर निनवेलाई दया नदेखाउनू, जसमा एक लाख बिस हजारभन्दा धेरै मानिसहरू बस्छन्, जसलाई आफ्नो दाहिने र देब्रे हात बिचको भिन्नता थाहा छैन, र धेरै गाई-वस्तुहरू छन्?”