6
हे बेन्यामीनका मानिसहरू हो, यरूशलेमलाई छोडेर सुरक्षा खोज । तकोमा तुरही फुक । बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ, किनकि उत्तरबाट दुष्‍टता देखा पर्दैछ। एउटा ठुलो मिचाहा आउँदैछ । सियोनकी सुन्दरी र कोमल छोरी नष्‍ट पारिन्छे । गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् । तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्‍नेछन् । हरेक मानिसले आफ्नो हातले चराउनेछ । “युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर । उठ, हामी मध्यदिनमा आक्रमण गरौं । दिन ढल्कँदै जानु र बेलुकीको छायाँ पर्दै जानु धेरै नराम्रो कुरा हो । तरै पनि हामी रातमा आक्रमण गरौं र त्यसको किल्लालाई नष्‍ट पारौं ।” किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यसका रुखहरू काटिदे, र यरूशलेमको विरुद्धमा घेरामचानहरू बनाओ । आक्रमण गर्नलाई यो नै ठिक सहर हो, किनकि यो अत्याचारले भरिएको छ । जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्‍तर दुष्‍टता उत्पादन गर्छ । त्‍यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् । ए यरूशलेम, अनुशासनलाई स्वीकार गर्, नत्रता म तँबाट तर्कनेछु, र तँलाई कोही नबस्‍ने उजाड देश बनाउनेछु ।” सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “निश्‍चय नै तिनीहरूले दाखबारीमा छाडिएका फललाई झैं इस्राएलमा छाडिएकाहरूलाई टिप्नेछन् । दाखका बोटहरूबाट दाख टिप्न फेरि तेरो हात पसार् । 10 म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून् ? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् । 11 तर म परमप्रभुको क्रोधले भरिएको छु । यसलाई थामेर म थाकिसकेको छु । उहाँले मलाई भन्‍नुभयो, “सडकका बालबालिका र युवाहरूको समूहमा यसलाई खन्याइदे । किनकि हरेक पुरुषलाई त्यसकी पत्‍नीसँगै, अनि कान नसुन्‍ने हरेक बुढा मानिसलाई लगिनेछ । 12 तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो । 13 सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् । 14 शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् । 15 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए ? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ । 16 परमप्रभु यसो भन्‍नुहुन्छ, “दोबाटोमा खडा हो र हेर् । प्राचीन मार्गहरू बारेमा सोधखोज गर् । 'यो असल मार्ग कहाँ छ ?' तब त्यसैमा हिंड, र आफ्नो लागि विश्रामस्थल पत्ता लगा । तर मानिसहरू भन्छन्, 'हामी जाने छैनौं ।' 17 तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें । तर तिनीहरूले भने, 'हामी सुन्‍ने छैनौं ।' 18 त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुने छ सो हेर । 19 हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे । 20 मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो ? वा टाढाको देशबाट आएका यी सुगन्धको ? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् । 21 त्‍यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, मैले यी मानिसको विरुद्धमा ठेस लाग्‍ने अवरोध राख्‍न लागेको छु । तिनीहरूका बाबुहरू र छोराहरू एकैसाथ त्‍यसमाथि ठक्‍कर खानेछन् । बासिन्दाहरू र तिनीहरू छिमेकीहरू पनि नष्‍ट हुनेछन् ।” 22 परमप्रभु यसो भन्‍नुहुन्छ, ‘हेर्, उत्तर देशबाट एउटा जाति आउँदैछ, पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ । 23 तिनीहरूले धनु र भालाहरू उठाउने छन् । तिनीहरू क्रुर छन् र दया नै छैन । तिनीहरूको आवाज समुद्रको गर्जनजस्तो छ, र तिनीहरू घोडाहरूमा सवार हुँदैछन् । हे सियोनकी छोरी, तेरो विरुद्धमा युद्ध गर्न तिनीहरू पङ्क्तिबद्ध भएर आउने मानिसहरूजस्तै अगाडि बढ्छन् ।” 24 हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिंदा स्‍त्रीलाई भएझैं सङ्कष्‍टले हामीलाई समात्छ । 25 बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् । 26 हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ । 27 “हे यर्मिया, तिनीहरूका मार्ग निरीक्षण गर्न र जाँच गर्न मैले तँलाई धातु जाँच गर्नेजस्तै मेरा मानिसहरूको जाँच गर्ने मानिस बनाएको छु । 28 तिनीहरू अति नै हठी मानिसहरू हुन् जो अरूहरूको बदख्याइँ गर्दै यताउता जान्छन् । तिनीहरू सबै भ्रष्‍टतापूर्वक काम गर्ने काँसा र फलाम हुन् । 29 आगोले भस्म गर्ने पदार्थलाई भस्म गर्न खलाँतीलाई जोडसित फुकिन्छ । आगोको रापमा फलाम पग्लन्छ । तिनीहरूका बिचमा शुद्देइँ जारी छ, तर यो अर्थहीन छ, किनकि दुष्‍ट्याइँलाई हटाइएको छैन । 30 तिनीहरू तिरस्‍कृत भएको चाँदी भनिनेछन् किनकि परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।”