5
यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन । त्यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “ढुङ्गाका कर्दहरू बना र इस्राएलका सबै पुरुषको फेरि एक पटक खतना गर् ।” त्यसपछि यहोशू आफैले ढुङ्गाका कर्दहरू बनाए र तिनले इस्राएलका सबै पुरुषको गिबियथ-हाअरालोथमा खतना गरे । यहोशूले तिनीहरूलाई खतना गर्ने कारण थियोः युद्ध गर्ने पुरुषहरूलगायत मिश्रबाट आएका सबै पुरुष मिश्रबाट आएपछि मरुभूमिको यात्रामा मरेका थिए । तथापि मिश्रबाट आएका सबै पुरुषको खतना भएको थियो, र मिश्रबाट आउँदा मरुभूमिमा जन्मेका कुनै पनि पुरुषको खतना भएको थिएन । मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो । यहोशूले खतना गरेका मानिसहरू परमप्रभुले तिनीहरूका सट्टामा उठाउनुभएका तिनीहरूका छोराछोरीहरू थिए, किनभने तिनीहरूको त्यस किसिमले खतना भएको थिएन । जब तिनीहरू सबैको खतना भयो, तिनीहरू निको नभएसम्म तिनीहरू त्यहीँ नै रहे । त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मैले मिश्रको अपमान तिमीहरूबाट हटाएको छु ।” त्यसैले, त्यस ठाउँको नाउँ वर्तमानसम्म पनि गिलगाल राखिएको छ । 10 इस्राएलका मानिसहरूले गिलगालमा छाउनी हाले । तिनीहरूले त्यही महिनाको चौधौँ दिनको साँझ यरीहोको मैदानमा निस्तार-चाड मनाए । 11 निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए । 12 तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्‍न रोकियो । इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए । 13 यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?” 14 तिनले भने, “कुनै पक्षको होइन । किनभने म परमप्रभुको फौजको सेनापति हुँ । अहिले म आएको छु ।” अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ?” 15 परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ ।” यहोशूले त्यसै गरे ।