7
तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो । यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ ।” त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए । जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् । त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए । ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो । तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे । त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो । हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र? कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ? 10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्? 11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् । 12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ । 13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “ तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।” 14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ । 15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।” 16 त्यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो । 17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो । 18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो । 19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।” 20 आकानले जवाफ दिए, “साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः 21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।” 22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो । 23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए । 24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए । 25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्‍ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए । 26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।