14
इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले । तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् । परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे । तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले । तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे । तापनि तिनले हत्याराहरूका छोराहरूलाई भने मारेनन् । बरु, तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार काम गरे, जस्‍तो परमप्रभुले यसो भनेर आज्ञा दिनुभएको थियो, “बुबाहरूलाई छोराछोरीका कारणले अनि छोराछोरीलाई बुबाहरूका कारणले मार्नुहुँदैन । बरु, हरेक व्यक्तिलाईउसको आफ्नै पापको कारणले मार्नुपर्छ ।” नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे । तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही छ । तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, “आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ ।” तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ ।' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो र सिउँडीलाई कुल्‍च्‍यो । 10 तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने ?” 11 तर अमस्याहले यो कुरा सुनेनन् । त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे । 12 इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस घर भाग्‍यो । 13 बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते । तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए । 14 तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र राजदरबारका मुल्यवान् थोकहरूका साथमा केही बन्दीहरूलाई समेत लगे र सामरिया फर्के । 15 यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 16 तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए । 17 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे । 18 अमस्याहका विषयमाभएका अन्‍य कुराहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 19 तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे । तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे । 20 तिनीहरूको तिनको लाशलाई घोडाहरूमा राखेर ल्‍याए र दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसितै गाडिए । 21 यहूदाका सारा मानिसले सोह्र वर्षका अजर्याहलाई लिए र तिनलाई आफ्‍ना पिता अमस्याहको ठाउँमा राजा बनाए । 22 राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे र त्‍यसलाई यहूदामा फिर्ता दिए । 23 यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे । 24 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् । 25 इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्ना सेवक गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा बोल्‍नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमानालाई तिनले पुनर्स्थापित गरे । 26 किनकि फुक्‍का र स्वतन्त्र हरेक इस्राएलीले कष्‍ट भोगिरहेको परमप्रभुले देख्‍नुभयो, र इस्राएलको लागि कुनै उद्धारक थिएन । 27 त्‍यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्‍नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो । 28 यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 29 यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।