16
रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे । आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् । बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए । तिनले उच्‍च थानहरू, डाँडाका टाकुराहरू र हरेक हरियो रुखमुनि बलिदानहरू चढाए र धूप बाले । तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् । त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्‍त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए , जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् । त्‍यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।” त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्‍पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए । तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्‍यसमाथि विजय हासिल गरे र यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे । 10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए । 11 त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्‍तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए । 12 राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए । 13 तिनले आफ्ना होमबलि र अन्‍नबलि चढाए, आफ्‍नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के । 14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्‍याए र आफ्‍नो वेदीको उत्तरपट्टि राखे । 15 तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए, “ठुलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि अनि राजाको होमबलि र तिनको अन्‍नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्‍नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्‍ति हुनेछ ।” 16 राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पुजारीले त्‍यसरी नै गरे । 17 तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे । 18 तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए । 19 आहाज र तिनले गरेका कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 20 आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।