5
हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् । हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए । हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् । हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ । हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन । पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ । हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ । कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन । उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ । 10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ । 11 सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् । 12 राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन । 13 युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् । 14 धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् । 15 हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ । 16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ । 17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् । 18 सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् । 19 तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ । 20 तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ ? 21 हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ । 22 तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।