25
परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो, “इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् । तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्‍नू र फसल बटुल्‍नू । तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् । आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्‍नू । आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू । योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस् । शबाथको वर्षमा खन-जोत नगरिएको भूमिले जे उब्जाउँछ त्यो नै तिमीहरूका निम्ति भोजन हुने छ । तिमीहरू, तिमीहरूका कमारा-कमारीहरू, तिमीहरूले ज्यालामा काममा लगाएका नोकरहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूले ती भोजन बटुल्‍न सक्छन्, र तिमीहरूका गाईवस्तु, र जङ्गली पशुहरूले पनि भूमिले जे उब्जाउँछ त्यही खाने छन् । तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू अर्थात् सात गुणा सात वर्ष गरी उनन्‍चास वर्ष गन्‍नू । त्यसपछि सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले सबै ठाउँमा ठुलो आवाजमा तुरही बजाउनू । प्रायश्‍चित्तको दिनमा तिमीहरूले आफ्ना सारा भूमिभरि तुरही बजाउनू । 10 तिमीहरूले पचासौँ वर्ष परमप्रभुका निम्ति अलग गर्नू र सारा भूमिमा सबै बासिन्दाहरूबिच स्वतन्त्रताको घोषणा गर्नू । यो तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष होस्, जुन वर्ष सम्पत्ति र दास तिनीहरूका परिवारहरूमा फिर्ता गरिने छन् । 11 पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुने छ । तिमीहरूले बाली नलगाउनू र कटनी पनि नगर्नू । आफै उम्रेका, र नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू । 12 यो पुनर्स्थापनाको वर्ष भएको हुनाले यो तिमीहरूका निम्ति पवित्र हुने छ । भूमिमा आफै उम्रेका कुराहरू तिमीहरूले खानू । 13 पुनर्स्थापनाको वर्षमा सबैलाई आफ्नै जग्‍गाजमिनमा फर्काउनू । 14 तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्‍गा बेच्‍दा वा आफ्नो छिमेकीबाट जग्‍गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू । 15 आफ्नो छिमेकीबाट जग्‍गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू र बालीहरूलाई ध्यानमा राख्‍नू । जग्‍गा बेच्‍न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस् । 16 अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य बढी हुने छ, र अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य कम हुने छ, किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ । 17 तिमीहरूले एक-अर्कालाई धोका नदिनू, बरु तिमीहरूले आफ्ना परमेश्‍वरको मान गर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । 18 यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्‍नू । अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउने छौ । 19 भूमिले आफ्नो उब्जनी दिने छ, र तिमीहरूले प्रशस्‍त मात्रामा खाने छौ र त्यहाँ सुरक्षित भएर जिउने छौ । 20 तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खाने छौँ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।” 21 छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्‍ने फसल उब्जाउने छ । 22 आठौँ वर्षमा तिमीहरूले बाली लगाउने छौ र तिमीहरूले अगिल्लो वर्षको उब्जनी र भण्डार गरिएको उब्जनीबाट नै खानू । नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्‍ने छौ । 23 कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्‍नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ । 24 तिमीहरूले हासिल गरेका सबै जग्‍गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्‍गा किन्यौ त्यही परिवारलाई त्यो जग्‍गा किन्‍ने मौका दिनू । 25 यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने छ । 26 यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने, 27 त्यसले त्यो जग्‍गा बेचेपछि बितेका वर्षहरू गनोस् र त्यसले जुन मानिसलाई त्यो जग्‍गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् । त्यसपछि त्यो आफ्नै जग्‍गाजमिनमा फर्कन सक्छ । 28 तर यदि त्यसले आफ्नो लागि त्यो जग्‍गा फिर्ता लिन सकेन भने, त्यसले बेचेको जग्‍गा पुनर्स्थापनाको वर्षसम्म जग्‍गा किन्‍ने मानिसको स्वामित्वमा हुने छ । पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्‍गा बेच्‍ने मानिसकहाँ नै त्यो जग्‍गा फर्काइन्छ, र त्यसको जग्‍गाधनी आफ्नै जग्‍गाजमिनमा फर्कने छ । 29 यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्‍छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्‍न सक्‍ने छ । एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने छ । 30 यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने, पर्खाल लगाएको सहरभित्रको घर, खरिद गर्ने मानिस र त्यसका वंशको स्थायी सम्पत्ति हुने छ । त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन । 31 तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्‍गासरह मानिने छ । ती फुकाउन सकिने छ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने छ । 32 तथापि, लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिने छ । 33 यदि लेवीहरूमध्ये कसैले आफूले बेचेको घर फुकाएन भने, सहरमा बेचिएको घर पुनर्स्थापनाको वर्षमा फिर्ता गरिनुपर्ने छ, किनभने इस्राएलका मानिसहरूमध्ये लेवीहरूका सहरहरूभित्र भएका घरहरू तिनीहरूको सम्पत्ति हो । 34 तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् । 35 यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू । 36 त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्‍वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् । 37 तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्‍नू । 38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ । 39 यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्‍यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू । 40 त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू । तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुने छ । पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्ने छ । 41 त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् । 42 किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्रदेशबाट बाहिर ल्याएँ । तिनीहरू दासहरूझैँ बेचिने छैनन् । 43 तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू, तर तिमीहरूले आफ्नो परमेश्‍वरको मान गर्नू । 44 तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास-दासीहरू तिमीहरूले प्राप्‍त गर्न सक्‍यौ भने, तिमीहरूले तिनीहरूबाट दासहरू किन्‍न सक्‍ने छौ । 45 तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्‍न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्‍न सक्छन् । 46 तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्‍त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू । 47 यदि कुनै परदेशी वा तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिस धनी भयो, र तिमीहरूमध्येको कुनै एउटा सङ्गी-इस्राएली गरिब भएर त्यसले आफैलाई त्यो परदेशी वा त्यस परदेशीको परिवारमा कसैकहाँ आफैलाई बेच्‍यो भने, 48 तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने छ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ । 49 त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्‍ने छ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्‍ने छ । 50 त्यसलाई किनेको मानिससँग त्यसले मोल-तोल गरोस्, र त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् । त्यसलाई किन्‍ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहने छ, ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस् । 51 पुनर्स्थापनाको वर्ष आउन अझै धेरै वर्ष बाँकी छ भने, ती वर्षहरूका आधारमा आफ्नो छुटकाराको रकम तिरोस् । 52 यदि पुनर्स्थापनाको वर्ष आउन थोरै मात्र समय रहेको छ भने, पुनर्स्थापनाको वर्ष आउनअगि बाँकी रहेका वर्षहरू त्यसलाई खरिद गर्नेसँग त्यसले मोल-तोल गरोस्, र ती वर्षहरूअनुसार त्यसले आफ्नो छुटकाराको निम्ति तिरोस् । 53 वर्ष-वर्षको निम्ति ज्यालामा लगाइएको मानिसझैँ त्यससँग व्यवहार गर्नू । त्यसलाई कठोरतासाथ व्यवहार नगर्नू । 54 यी तरिकाहरूबाट त्यसको छुटकारा हुन सकेन भने, त्यो र त्यसका छोराछोरीहरूले पुनर्स्थापनाको वर्षसम्म सेवा गरून् । 55 मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”