5
यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ । वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ । वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ । वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ । यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ । त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ । यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति । त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने छ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् । त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो । 10 त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । 11 तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पिठोको पापबलि ल्याओस् । त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस् । 12 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो । 13 त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।” 14 अनि परमप्रभु मोशासँग यसो भनेर बोल्‍नुभयो, 15 “यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ । 16 जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ । 17 परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ । 18 त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ । 19 यो दोषबलि हो, र त्यो निश्‍चय नै परमप्रभुको अगि दोषी छ ।”