3
“हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्‍कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ । उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्‍नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् । त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्‍न तुल्याउने किसिमको हुनेछ । “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ । तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’ के कुनै मानिसले परमेश्‍वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा । तिमीहरू श्रापित भएका छौ, किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ । 10 भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 11 “तिमीहरूका बालीहरू नष्‍ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्‍मै फसल नष्‍ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 12 “सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्‍नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 13 “मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’ 14 तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ? 15 यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्‍ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरलाई जाँच गरेर उम्कन्छन् ।’ ” 16 अनि परमप्रभुको भय मान्‍नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्‍नुभयो, र परमप्रभुको भय मान्‍ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो । 17 “मैले काम गर्ने दिनमा, तिनीहरू मेरा हुनेछन्, मेरो आफ्नै धन-सम्पत्ति हुनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु । 18 अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्‍ट बिच भिन्‍नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।