16
हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ । मानिसका सबै मार्ग उसको आफ्नै दृष्‍टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्‍नुहुन्छ । आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुने छन् । परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्‍टहरूलाई समेत विनाशको दिनको लागि राख्‍नुभएको छ । अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्‍चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् । करारको विश्‍वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्‍चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् । जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्‍नुहुने छ । अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ । मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ । 10 राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन । 11 इमानदार तराजु परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् । 12 राजाले दुष्‍ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ । 13 ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् । 14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ । 15 राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो । 16 सुनभन्दा बुद्धि प्राप्‍त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्‍त गर्नु उत्तम हुन्छ । 17 धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ । 18 विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ । 19 घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ । 20 सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् । 21 हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ । 22 समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो । 23 बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ । 24 मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ । 25 कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ । 26 परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ । 27 बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ । 28 टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ । 29 हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ । 30 द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्‍र्‍याउनेले खराबी ल्याउँछ । 31 फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्‍त गर्न सकिन्छ । 32 योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ । 33 सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।