19
बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हो । ज्ञानविनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ । मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ । धनले धेरै मित्रहरू बनाउँछ, तर गरिब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ । झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन । धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ । गरिब मानिसका सबै दाजुभाइले त्यसलाई घृणा गर्छन् भने, त्यसका टाढा जाने मित्रहरूले त झन् कति धेरै त्यसलाई त्याग्लान्! त्यसले तिनीहरूलाई बोलाउँछन्, तर तिनीहरू गइसकेका हुन्छन् । बुद्धि प्राप्‍त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ । झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्‍ट हुने छ । 10 मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो! 11 विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो । 12 राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ । 13 मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्‍नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो । 14 घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाट आउँछ । 15 अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्‍याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ । 16 आज्ञा पालन गर्नेले त्यसको जीवनको रखवाली गर्छ, तर आफ्ना मार्गहरूबारे नसोच्नेचाहिँ मर्ने छ । 17 गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ । 18 आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना । 19 गरम मिजास भएको मानिसले जरिवाना तिर्नैपर्छ । त्यसलाई छुटकारा दिइस् भने तैँले दोस्रो पटक त्यसै गर्नुपर्ने हुन्छ । 20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्‍न सक्छस् । 21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ । 22 मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो । 23 परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन । 24 अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन । 25 गिल्ला गर्नेलाई हिर्का, र निर्बुद्धि मानिस विवेकी बन्‍ने छ । समझदार मानिसलाई अनुशासनमा राख्, र त्यसले ज्ञान प्राप्‍त गर्ने छ । 26 आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ । 27 हे मेरो छोरो, तैँले अर्ती सुन्‍न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिने छस् । 28 भ्रष्‍ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्‍टको मुखले अधर्मलाई निलिदिन्छ । 29 गिल्ला गर्नेहरूका लागि दण्डाज्ञा र मूर्खहरूको पिठिउँको लागि कोर्रा तयार छ ।