21
राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ । हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ । बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ । अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्‍टको बत्ती पाप हुन् । परिश्रमीका योजनाहरूले केवल उन्‍नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ । झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो । दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् । दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ । झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ । 10 दुष्‍टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन । 11 खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ । 12 धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ । 13 गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन । 14 गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ । 15 न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ । 16 समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ । 17 मोजमज्‍जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन । 18 दुष्‍ट मानिस धर्मी मानिसको लागि प्रायश्‍चित्त हुन्छ, र विश्‍वासघाती मानिस सोझो मानिसको लागि प्रायश्‍चित्त हुन्छ । 19 झगडालु र रिसालु पत्‍नीसित बस्‍नुभन्दा उजाड्-स्थानमा बस्‍नु बेस हुन्छ । 20 इच्छा गरिएको खजाना र तेल बुद्धिमान्‌को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् । 21 असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्‍जत पाउँछ । 22 बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ । 23 आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्‍टबाट बचाउँछ । 24 घमण्डी र हठी मानिसको नाउँ “खिल्ली उडाउने” हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ । 25 अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ । 26 दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ । 27 दुष्‍टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा यो झनै घृणित हुन्छ । 28 झुटो साक्षी नष्‍ट हुने छ, तर ध्यान दिएर सुन्‍नेले बोलिरहने छ । 29 दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ । 30 यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ । 31 घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।