9
बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ । त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ । त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ । “निर्बुद्धि को हो ? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ । “आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ । आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड । गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ । गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ । बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ । 10 परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो । 11 किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ । 12 तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्‍ने छस् ।” 13 मूर्ख स्‍त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन । 14 त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे । 15 त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे । 16 “कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे । 17 “चोरीको पानी मिठो हुन्छ, र गुप्‍तमा खाएको रोटी स्वादिष्‍ट हुन्छ ।” 18 तर त्यहाँ मरेकाहरू छन् र त्यस स्‍त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन ।