18
यसपछि दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्‍यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए । तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे । एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्‍जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे । जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे । तब दाऊदले दमस्‍कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो । हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए । तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँडाहरू बनाए । जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने, 10 तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्‍ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्‍ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्‍न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए । 11 दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे । 12 सरूयाहका छोरा अबीशैले नूनको उपत्‍यकामा अठाह्र हजार एदोमीलाई मारे । 13 तिनले एदोममा सेनाको छाउनी राखे, र सबै एदोमी अब दाऊदका सेवक भए । दाऊद जहाँ गए त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो । 14 दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै मानिसहरूको न्‍याय र धार्मकता कायम गरे । 15 सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए, र अहीलूदका छोरा यहोशापात लेखापाल थिए । 16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए, र शब्‍शा सचिव थिए । 17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।