22
तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।” यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए । तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा, र गन्‍न सक्‍नेभन्‍दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्‍त मात्रामा देवदारु दाऊदकहाँ ल्‍याइदिए) । दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्‍ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्‍नो मृत्‍यु हुनुअगि ठुलो तयारी गरे । तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए । दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो । तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ । तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु । 10 मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’ 11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्। 12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् । 13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो । 14 अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्‍नुपर्छ । 15 तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्, 16 जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।” 17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए, 18 “परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन्‌ । 19 अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”