28
दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे । तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें । तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति तैंले मन्‍दिर बनाउनेछैनस्, किनभने तँ लडाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्‌ ।’ तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो । परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्‍ये इस्राएलमाथि परमप्रभुको राज्‍यको सिंहासनमा बस्‍न उहाँले मेरो छोरो सोलोमनलाई चुन्‍नुभयो । उहाँले मलाई भन्‍नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु । आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने, म उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु ।’ अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति र हाम्रा परमेश्‍वरको उपस्‍थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालना गर्नु र निरन्तरता दिनुपर्छ । यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ र आफ्‍नो पैतृकअंशझैं तिमीहरूपछिका सन्‍तानहरूलाई दिन सक्‍नेछौ । ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ । 10 यसैले याद राख, यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको छ । बलियो होऊ, र यो काम गर ।” 11 तब दाऊदले आफ्‍ना छोरा सोलोमनलाई मन्‍दिरको दलान र त्‍यसका भवन, भण्‍डारहरू, कौसीहरू, भित्री कोठाहरू र प्रायश्‍चित गर्ने कोठाका नक्‍शा दिए । 12 तिनले परमप्रभुको मन्‍दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका भेटी राख्‍ने भण्‍डारहरूका निम्‍ति नक्‍शाहरू दिए । 13 उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्‍ति र परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम र त्‍यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्‍ति निर्देशनहरू दिए । 14 हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए, 15 सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्‍ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए । 16 उपस्‍थितिको रोटीको हरेक टेबलको निम्‍ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए । 17 तिनले मासुका काँटाहरू, छर्कने बाटाहरू र कचौराहरूका निम्‍ति निखुर सुनको तौल दिए । तिनले हरेक सुन र चाँदीको भाँडाको निम्‍ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए । 18 तिनले धूप-वेदीको निम्‍ति पनि निखुर सुनको तौल तोकिदिए, अर्थात्‌ आफ्‍ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्‍दूकलाई छेक्‍ने सुनका करूबहरूका निम्‍ति पनि तिनले सुनको तौल दिए । 19 दाऊदले भने, “जसरी परमप्रभुले मलाई निर्देशन दिनुभयो र नक्साको समझ मलाई दिनुभयो त्‍यसरी नै मैले यी सबै कुराहरू लेखेको छु ।” 20 दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ । यो काम गर । नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ । परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ । 21 हेर, परमप्रभुको मन्‍दिरका सबै सेवा गर्न पुजारी र लेवीका दलहरू तयार छन्‌ । तिम्रो काममा सहायता गर्न र सेवाको काम गर्नलाई तिनीहरू र खुशीसाथ कुनै पनि काम गर्ने सिपालु मानिसहरू तिम्रो साथमा हुनेछन् । अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक आज्ञा शिरोपर गर्न तयार छन् ।”