11
बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे । त्यसैले एक साँझ यस्‍तो भयो, दाऊद आफ्नो ओछ्‍यानबाट उठे र आफ्‍नो दरबारको छतमा हिंडिरहे । त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन् । त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्‍त्रीलाई चिन्‍नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्‍नी होइनन् र?” दाऊदले दूतहरू पठाए र तिनलाई ल्याए । तिनकहाँ उनी आइन् र तिनी उनीसँग सुते (किनकि उनले आफूलाई रजस्वलाबाट भर्खरै मात्र शुद्ध पारेकी थिइन्)। त्‍यसपछि उनी आफ्नै घरमा फर्किन् । ती स्‍त्री गर्भवती भइन् र उनले दाऊदलाई खबर पठाइन् र भनिन् । उनले भनिन्, “म गर्भवती भएछु ।” त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए । जब उरियाह आइपुगे, तब दाऊदले योआब कस्ता छन्, फौज कस्तो छ र युद्ध कस्तो भइरहेको छ भनी सोधपुछ गरे । दाऊदले उरियाहलाई भने, “तल आफ्नो घरमा जाऊ र आफ्नो खुट्टा धोऊ ।” त्यसैले उरियाह राजाको दरबारबाट गए र राजाले उरियाह गएपछि तिनको पछिपछि उपहार पठाए । तर उरियाह राजाको दरबारको ढोकामा आफ्ना मालिकका सेवकहरूसँगै सुते र तिनी तल आफ्नो घरमा गएनन् । 10 जब तिनीहरूले दाऊदलाई भने, “उरियाह तल आफ्नो घरमा गएनन् ।” दाऊदले उरियाहलाई भने, “के तिमी यात्राबाट आएका होइनौ? तिमी तल आफ्नो घरमा किन नगएको?” 11 उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्‍ला मैदानमा छाउनीमा छन् । तब म आफ्‍नो घरमा खान, पिउन र मेरो पत्‍नीसँग सुत्‍नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।” 12 त्यसैले दाऊदले उरियाहलाई भने, “आज पनि यहीं बस र म तिमीलाई भोलि पठाउने छु ।” त्यसैले उरियाह त्यस दिन र अर्को दिन यरूशलेममा नै बसे । 13 जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्‍याए । साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्‍नो ओछ्‍यानमा सुत्‍न गए । उनी तल आफ्नो घरमा गएनन् । 14 त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए । 15 दाऊदले पत्र यसो भनेर लेखे, “धेरै भयङ्‍कर युद्धको अग्र पङ्‍तीमा उरियाहलाई राख्‍नू र त्यसबाट पछि हट्नू, ताकि त्यसलाई प्रहार गरियोस् र मारियोस् ।” 16 त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे, तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए । 17 जब सहरका मानिसहरू बाहिर निस्‍के र योआबका फौजसँग युद्ध लडे, तब दाऊदका केही सिपाहीहरू मरे र हित्ती उरियाहलाई पनि त्यहीं मारियो । 18 जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए, 19 तब तिनले दूतहरूलाई यसो भनेर आज्ञा दिए, “जब तैंले राजालाई युद्धका बारेमा सबै कुराहरू भनेर सिद्ध्याउँछस्, 20 तब राजा रिसाउन सक्‍छन् र तिनले भन्‍ने छन्, 'तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्‍ने तिमीहरूले जानेनौ? 21 यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।” 22 त्यसैले त्‍यो दूत विदा भयो र दाऊदकहाँ गयो र योआबले तिनलाई भन्‍न पठाएका हरेक कुरा भनिदिए । 23 त्यसपछि त्‍यो दूतले दाऊदलाई भने, “सुरुमा हामीभन्‍दा शत्रुहरू बलिया थिए । उनीहरू हामीमाथि खुल्ला मैदानमा आए, तर हामीले उनीहरूलाई भित्र पस्‍ने ढोकातिर नै फर्कायौं । 24 तब उनीहरूका काँड हान्‍नेहरूले पर्खाल माथिबाट तपाईंका केही सिपाहीलाई काँड हाने र राजाका केही सेवक मारिए र तपाईंको दास हित्ती उरियाह पनि मारिए ।” 25 दाऊदले त्‍यस दूतलाई भने, “योआबलाई भन्, 'यसले तिमीलाई दुःखित नतुल्याओस्, किनकि तरवारले एउटा वा अर्कोलाई नष्‍ट पार्छ । त्‍यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार र त्‍यसलाई नाश पार,' र तिनलाई उत्साह दिए ।” 26 जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् । 27 जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।