4
जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो । शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्‍तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ, र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन् ।) शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो । त्यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे । ढोकाको स्‍त्री पाले गहूँ ओसार्दै गर्दा मस्‍त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए । यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे । तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको छ ।” दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो, 10 जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्‍यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ । 11 झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?” 12 त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।