आमोसको भविष्यवाणी   
1
1 आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।   
   
 
   
 
2 तिनले भने:  
“याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ,  
र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ;  
गोठालाका खर्कहरू सुकेर जान्छन्  
र कर्मेलको टाकुरा ओइलाउँछ।”   
इस्राएलका छिमेकीहरूमाथि न्याय 
 
3 याहवेह यसो भन्नुहुन्छ:  
“दमस्कसका तीन वटा पापहरूका कारण,  
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
किनकि त्यसले फलामका दाँतहरू भएका  
डण्डाले गिलादलाई दाइँ गरेकी छे;   
4 म हजाएलको घरमा आगो पठाउनेछु,  
जसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ।   
5 म दमस्कसका ढोकालाई फोरिदिनेछु;  
म अवेनको बेँसीमा बस्ने राजालाई नाश गर्नेछु;  
अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु।  
अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,”  
याहवेहले भन्नुहुन्छ।   
6 याहवेह यसो भन्नुहुन्छ:  
“गाजाका तीन वटा पापहरूका कारण,  
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे;  
अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;   
7 म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु,  
जसले त्यसका किल्लाहरू भस्म पार्नेछ।   
8 म अश्दोदको राजा  
र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु।  
सबै पलिश्तीहरू नमरेसम्म,  
म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,”  
प्रभु याहवेह भन्नुहुन्छ।   
9 याहवेह यसो भन्नुहुन्छ:  
“टायरका तीन वटा पापहरूका कारण,  
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै  
एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;   
10 म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु,  
जसले त्यसका बलिया किल्लाहरूलाई भस्म पार्नेछ।”   
11 याहवेह यसो भन्नुहुन्छ:  
“एदोमका तीन वटा पापहरूका कारण,  
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्यो,  
र देशका स्त्रीहरूलाई मार्यो;  
किनभने त्यसको रिस निरन्तर उठिरह्यो,  
र त्यसको रिसको ज्वाला दन्किरह्यो।   
12 म तेमानमाथि आगो पठाउनेछु;  
त्यसले बोज्राका किल्लाहरूलाई भस्म पार्नेछ।”   
13 याहवेह यसो भन्नुहुन्छ:  
“अम्मोनका तीन वटा पापहरूका कारण,  
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति  
गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।   
14 म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु,  
जसले त्यसको किल्लाहरू भस्म पार्नेछ;  
लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा,  
र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।   
15 रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरू  
सबै एकसाथ निर्वासनमा लगिनेछन्,”  
याहवेह भन्नुहुन्छ।