2
1 याहवेह यसो भन्नुहुन्छ:  
“मोआबका तीन वटा पापहरू,  
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
किनकि त्यसले एदोमको राजाका  
हड्डीहरू जलाएर खरानी पारिदियो;   
2 म मोआबमाथि आगो पठाउनेछु,  
जसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ।  
मोआबको पतन ठूलो होहल्लाका साथ  
युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ।   
3 म त्यसको शासकलाई नाश गर्नेछु,  
र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,”  
याहवेह भन्नुहुन्छ।   
4 याहवेह यसो भन्नुहुन्छ:  
“यहूदाका तीन वटा पापहरू,  
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्,  
र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्;  
किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्,  
जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए,   
5 म यहूदामाथि आगो पठाउनेछु;  
त्यसले यरूशलेमका किल्लाहरू भस्म पार्नेछ।”   
इस्राएलमाथि न्याय 
 
6 याहवेह यसो भन्नुहुन्छ:  
“इस्राएलका तीन वटा पापहरूका कारण,  
अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।  
तिनीहरूले निर्दोषलाई चाँदीमा,  
र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्।   
7 तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ  
गरिबका टाउकोमाथि कुल्चन्छन्;  
अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्।  
बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्;  
अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्।   
8 तिनीहरू हरेक वेदीको छेउमा  
बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्।  
तिनीहरू आफ्ना देवताको मन्दिरमा  
जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्।   
   
 
9 “मैले तिनीहरूकै सामु एमोरीहरूलाई नाश गरेँ,  
तर पनि त्यो देवदारुको रूखजस्तै अल्गो,  
र फलाँटको रूखजस्तै बलियो थियो।  
मैले ती रूखहरूमाथि रहेका फलहरू,  
र त्यसको तल रहेका जराहरू नाश गरिदिएँ।   
10 तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति  
मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ;  
अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्याएँ।”   
   
 
11 मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू  
र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ।  
“हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?”  
याहवेह घोषणा गर्नुहुन्छ।   
12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन बाध्य गरायौ,  
र अगमवक्ताहरूलाई अगमवाणी नबोल भनी आदेश दियौ।   
   
 
13 “त्यसैले अब म अन्नले लादिएको गाडाले किचेझैँ  
तिमीहरूलाई जमिनमा किचिदिनेछु।   
14 वेगसित दगुर्ने पनि उम्कनेछैन;  
बलवान्हरूको बल पनि काम लाग्नेछैन,  
र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्।   
15 धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन;  
र अति वेगसित दौडने सिपाही उम्कनेछैन;  
अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन।   
16 बहादुर योद्धाहरू नै भए तापनि  
त्यो दिन तिनीहरू नाङ्गै भाग्नेछन्,”  
याहवेह घोषणा गर्नुहुन्छ।