4
इस्राएल परमेश्वरतिर फर्केको छैन 
 
1 हे सामरिया पर्वतमाथि बस्ने बाशानका गाईहरू हो, यो वचन सुन!  
हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ;  
अनि आफ्ना पतिहरूलाई भन्दछौ, “हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!”   
2 प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ:  
“अवश्य नै समय आउनेछ,  
जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ,  
र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ।   
3 तिमीहरू हरेक पर्खालका धाँदाहरूबाट  
सीधै बाहिर निस्कनेछौ।  
तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
4 “बेथेलमा जाओ र पाप गर;  
गिलगालमा जाओ र अझ बढी पाप गर।  
हरेक बिहान तिमीहरूका बलिदानहरू ल्याओ!  
हरेक तीन वर्षमा तिमीहरूका दशांश भेटी पनि ल्याओ।   
5 खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ,  
र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ;  
अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर;  
किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,”  
प्रभु याहवेह घोषणा गर्नुहुन्छ।   
   
 
6 “मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ,  
र हरेक नगरमा रोटीको अभाव गरिदिएँ;  
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
   
 
7 “फसलको समय अझै तीन महिना बाँकी रहँदै  
मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ।  
मैले एउटा सहरमा वर्षाको पानी पठाएँ,  
तर अर्को सहरमा रोकिदिएँ।  
एउटा खेतमा पानी पर्यो;  
तर अर्को खेतमाथि परेन, त्यो सुक्यो।   
8 मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे,  
तर प्रशस्त पिउनलाई पानी पाएनन्,  
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
   
 
9 “धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ;  
मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ।  
सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए,  
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
   
 
10 “मैले इजिप्टमा पठाएझैँ  
तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ।  
मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ  
र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ।  
मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ,  
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
   
 
11 “मैले सदोम र गमोरालाई ध्वस्त पारेजस्तै गरी  
तिमीहरूमध्ये कतिलाई ध्वस्त पारेको छु।  
तिमीहरू जल्दैगरेको आगोबाट निकालिएको अगुल्टोजस्तै थियौ,  
तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
   
 
12 “यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु;  
किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले,  
तिमीहरू आफ्ना परमेश्वरलाई भेट्न तयार होओ।”   
   
 
13 जसले पर्वतहरू बनाउनुहुन्छ,  
जसले बतासलाई सृजना गर्नुहुन्छ;  
अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ;  
उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ,  
र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ;  
उहाँको नाम याहवेह सेनाहरूका परमेश्वर हो।