3
इस्राएलको विरुद्धमा साक्षीहरू बोलाइएको 
 
1 हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:   
2 “पृथ्वीका सारा घरानाका बीचबाट  
मैले केवल तिमीहरूलाई मात्र चुनेको छु;  
यसकारण म तिमीहरूलाई तिमीहरूका  
सबै पापहरूको दण्ड दिनेछु।”   
   
 
3 के एक-आपसमा सहमत नभएसम्म  
दुई जना सँगसँगै हिँड्छन् र?   
4 के जङ्गलमा शिकार नै नभेटी  
सिंह गर्जन्छ र?  
के सिंहले केही फेला नपारीकन  
त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?   
5 के पासोमा चारो राखिएको छैन भने,  
चरो पासोमा पर्छ र?  
के पासोमा केही परेको छैन भने,  
त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?   
6 जब सहरमा तुरही फुकिन्छ,  
तब के मानिसहरू डरले काम्दैनन् र?  
जब सहरमा विपत्ति आउँछ,  
के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?   
   
 
7 निश्चय नै प्रभु याहवेहले  
आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई  
प्रकट नगरी केही पनि गर्नुहुन्न।   
   
 
8 सिंह गर्जेको सुनेर,  
को भयभीत नहोला र?  
प्रभु याहवेहले बोल्नुभएको छ;  
अनि कसले अगमवाणी गर्दैन र?   
   
 
9 अश्दोदका किल्लाहरू  
र इजिप्टका किल्लाहरूलाई घोषणा गर:  
“सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ;  
त्यसभित्र भएको ठूलो अशान्ति  
र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”   
   
 
10 याहवेह घोषणा गर्नुहुन्छ,  
“कसरी उचित काम गर्ने भन्ने कुरा तिनीहरूलाई थाहा नै छैन;  
तिनीहरूले खोसेका र लुटेका मालसामानहरू  
तिनीहरूका किल्लाहरूमा थुपार्छन्।”   
11 यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ:  
“शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ;  
त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ,  
र तिमीहरूका किल्लाहरूलाई लुटपाट गर्नेछ।”   
12 याहवेह यसो भन्नुहुन्छ:  
“जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका  
खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ,  
त्यसरी नै सामरियामा बस्ने इस्राएलीहरू,  
पलङको कुना र गद्दीमा बस्ने  
थोरै मानिसहरू मात्र बचाइनेछन्।”   
13 प्रभु याहवेह, सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।   
14 “जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु,  
म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु;  
वेदीका चारैतिरका सिङहरू काटिनेछन्,  
र ती भुइँमा खस्नेछन्।   
15 म गर्मीका महल सँगसँगै हिउँदका  
महललाई पनि भत्काउनेछु;  
हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्,  
र दरबारहरू भत्काइनेछन्,”  
याहवेह घोषणा गर्नुहुन्छ।