6
आत्मसन्तुष्ट भएकाहरूलाई धिक्कार 
 
1 धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसाथ बसेका छौ;  
अनि धिक्कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ;  
धिक्कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू,  
जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!   
2 कल्नेह सहरमा जाओ र त्यसलाई हेर;  
त्यहाँबाट हमात सहरमा जाओ;  
अनि तल पलिश्तीको गातमा जाओ।  
के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र?  
के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र?   
3 तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ,  
र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ।   
4 तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ,  
र सोफाहरूमा ढल्कन्छौ।  
तिमीहरू असल भेडाहरू  
र मोटा बाछाहरू खान्छौ।   
5 तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ,  
र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्दछौ।   
6 तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ,  
र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ,  
तर योसेफको विनाशमाथि शोक गर्दैनौ।   
7 यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ;  
तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ।   
याहवेहले इस्राएलको घमण्डलाई घृणा गर्नुहुन्छ 
 
8 प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ:  
“म याकोबको घमण्डलाई घृणा गर्छु,  
र त्यसका किल्लाहरूलाई घृणा गर्छु;  
म यस सहर र यसमा भएका सबैलाई  
शत्रुको हातमा सुम्पिदिनेछु।”   
9 यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्।  
10 यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।”   
11 किनकि याहवेहले आज्ञा दिनुभएको छ;  
अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर  
र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ।   
   
 
12 के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र?  
के कसैले समुद्रमा गोरुहरूले जोत्छ र?  
तर तिमीहरूले त न्यायलाई विषमा  
र धार्मिकताका फलचाहिँ तितोमा परिणत गरिदिएका छौ,   
13 अर्थात् तिमीहरू लो-देबार सहरलाई जितेकोमा आनन्द मनाउँछौ,  
र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम सहरलाई कब्जा गरेका होइनौँ र?”   
   
 
14 किनकि याहवेह सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ,  
“हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु;  
त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै  
तिमीहरूमाथि अत्याचार गर्नेछ।”