7
सलह, आगो र नाप्ने टाँगो 
 
1 प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो।  
2 जब तिनीहरूले जमिनलाई सखाप पारे, तब मैले भनेँ, “प्रभु याहवेह, क्षमा गर्नुहोस्! कसरी याकोब बाँच्न सक्छ? त्यो त साह्रै सानो छ!”   
3 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो।  
याहवेहले भन्नुभयो, “यस्तो हुनेछैन।”   
4 प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो।  
5 त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।”   
6 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो।  
प्रभु याहवेहले भन्नुभयो, “यस्तो हुनेछैन।”   
   
 
7 उहाँले फेरि मलाई यस्तो देखाउनुभयो: प्रभु नाप्ने टाँगोले सीधा नापेर बनाएको पर्खालको छेउमा आफ्नो हातमा एउटा नाप्ने साहुल लिएर खडा हुनुभएको थियो।  
8 अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”  
मैले जवाफ दिए, “एउटा नाप्ने साहुल देख्दैछु।”  
त्यसपछि प्रभुले भन्नुभयो, “हेर, म मेरा मानिस इस्राएलीहरूका बीचमा एउटा साहुल प्रयोग गर्दैछु; अब म तिनीहरूलाई छोडनेछैनँ।”   
9 “इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्;  
र इस्राएलका पवित्रस्थानहरू ध्वस्त हुनेछन्;  
म यारोबामका घरानाको विरुद्धमा मेरो तरवार लिएर खडा हुनेछु।”   
आमोस र अमस्याह 
 
10 त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन।  
11 किनकि आमोसले यसो भनिरहेका छन्:  
“यारोबाम तरवारद्वारा मारिनेछ;  
र इस्राएल निश्चय नै तिनीहरूका  
स्वदेशबाट टाढा निर्वासनमा जानेछ।”   
12 त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर।  
13 अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।”   
14 आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ।  
15 तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’  
16 यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ,  
“ ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर,  
र इसहाकको घरानाको विरुद्धमा प्रचार गर्न बन्द गर।’   
17 “यसकारण याहवेह यसो भन्नुहुन्छ:  
“ ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछे,  
र तिम्रा छोराछोरीहरू तरवारद्वारा काटिएर मारिनेछन्।  
तेरो देशलाई नापि-नापिकन विभाजन गरिनेछ;  
अनि तँ आफैँचाहिँ मूर्तिपूजकको देशमा मर्नेछस्।  
अनि इस्राएलचाहिँ निश्चय नै  
आफ्नो स्वदेशबाट टाढा निर्वासनमा लगिनेछ।’ ”