9
इस्राएल ध्वस्त पारिनेछ 
 
1 मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्नुभयो:  
“खम्बाका टुप्पाहरूमा हिर्का,  
ताकि सँघारहरू हल्लिऊन्।  
सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्;  
बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु।  
एकै जना पनि भाग्न पाउनेछैन;  
एउटै पनि उम्कन पाउनेछैन।   
2 तिनीहरू पातालको गहिराइसम्म गए तापनि  
मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ।  
तिनीहरू माथि स्वर्गमा उक्ले तापनि  
म तिनीहरूलाई तल झार्नेछु।   
3 तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि  
त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु।  
तिनीहरू मेरो दृष्टिबाट समुद्रको पीँधमा लुके तापनि  
त्यहाँ म तिनीहरूलाई डस्न सर्पहरूलाई आज्ञा दिनेछु।   
4 तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि  
त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु।  
   
 
“म मेरो नजर तिनीहरूमाथि राख्नेछु,  
भलाइको निम्ति होइन, तर खराबीको निम्ति।”   
   
 
5 प्रभु, सेनाहरूका याहवेह,  
उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ;  
अनि त्यहाँ बस्नेहरू सबै विलाप गर्छन्;  
सारा देश नील नदीझैँ माथि उठ्नेछ,  
त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ;   
6 उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ,  
र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ;  
उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ,  
र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ,  
उहाँको नाम याहवेह हो।   
   
 
7 “के तिमी इस्राएलीहरू मेरा निम्ति  
कूशका सन्तानजस्ता छैनौ र?”  
याहवेहले घोषणा गर्नुहुन्छ।  
“के मैले इस्राएललाई इजिप्टबाट,  
पलिश्तीहरूलाई कप्तोरबाट,  
र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन?   
   
 
8 “निश्चय नै प्रभु याहवेहको दृष्टि  
यो दुष्ट राज्यमाथि छ।  
म यसलाई पृथ्वीको  
सतहबाट ध्वस्त गर्नेछु।  
तापनि म याकोबको घरानालाई  
सम्पूर्ण रूपले नाश गर्नेछैनँ,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
9 “किनकि म आज्ञा दिनेछु,  
र इस्राएलको घरानालाई  
सबै राष्ट्रहरूका बीचमा यसरी हल्लाउनेछु,  
जसरी चाल्नीमा अन्नलाई चालिन्छ;  
तर एउटा ढुङ्गाको टुक्रा पनि भुइँमा खस्नेछैन।   
10 मेरा मानिसहरूका बीचमा भएका  
सबै पापीहरू तरवारले मारिनेछन्;  
तिनीहरू सबै जना, जसले यसो भन्छन्,  
‘विपत्ति हामी नजिक आउनेछैन, न त विपत्तिले हामीलाई छुने नै छ।’   
इस्राएलको पुनर्स्थापन 
 
11 “त्यस दिन,  
“म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु,  
अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु;  
अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु,  
अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु,   
12 ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई  
र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,”  
याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ।   
13 याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्,  
“जब जोत्नेले कटनी गर्नेलाई उछिन्नेछ,  
र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्नेछ।  
नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्,  
र सबै डाँडाहरूबाट ती बग्नेछन्।   
14 म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु।  
   
 
“तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्,  
र ती सहरहरूमा बसोबास गर्नेछन्।  
तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्;  
तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्।   
15 म इस्राएललाई तिनीहरूको आफ्नै देशमा बसाल्नेछु,  
मैले तिनीहरूलाई दिएको  
देशबाट फेरि कहिल्यै पनि नउखेलिने गरी बसाल्नेछु,”  
याहवेह तिमीहरूका परमेश्वर यसो भन्नुहुन्छ।