8
पाकेका फलको डालो 
 
1 प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो।  
2 उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”  
मैले जवाफ दिए, “पाकेको फलको एउटा डालो।”  
त्यसपछि याहवेहले मलाई भन्नुभयो, “मेरा मानिस इस्राएलीहरूको समय पूरा भएको छ; म तिनीहरूलाई अब उसो छोड्नेछैनँ।”   
3 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्नाटा हुनेछ!”   
4 खाँचोमा परेकाहरूलाई कुल्चनेहरू,  
हे देशका गरिबहरूलाई त्याग्नेहरू हो, यो कुरा सुन।   
5 तिमीहरू यसो भन्छौ,  
“औँसीको दिन कहिले बित्छ  
र हामी अन्न बेच्न सक्छौँ;  
अनि शब्बाथ दिन कहिले समाप्त हुन्छ  
र हामी गहुँ बेच्न सक्छौँ?”  
अर्थात् नापतौलमा ठगेर,  
मूल्य बढाएर  
र छली ढक तराजु चलाएर ठग्न सक्छौँ;   
6 गरिबलाई चाँदीले,  
र खाँचोमा परेकालाई एक जोडी जुत्तामा किनेर  
कसिङ्गर सरहको गहुँ बेच्न सक्छौँ।   
7 याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ।   
8 “के यसको निम्ति देश काम्दैन र?  
अनि त्यहाँ बस्ने सबैले विलाप गर्दैनन् र?  
सारा देश नील नदीझैँ उठ्नेछ;  
इजिप्टको नदीझैँ  
यो उर्लनेछ र घट्नेछ।”   
9 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन,  
“म सूर्यलाई मध्यदिनमा नै अस्ताइदिनेछु,  
र दिनको उज्यालोमा नै पृथ्वीलाई अन्धकार तुल्याइदिनेछु।   
10 म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा  
र तिमीहरूका सबै गीतहरू विलापमा परिवर्तन गरिदिनेछु।  
म तिमीहरू सबैलाई भाङ्ग्राको कपडा पहिरन लगाउनेछु,  
र तिमीहरूका कपाल खौरन लगाउनेछु।  
म त्यस समयलाई एउटै छोराको निम्ति शोक गरेझैँ बनाइदिनेछु,  
र त्यस दिनको अन्त्य सारै तितो हुनेछ।”   
   
 
11 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्,  
जब म देशमा अनिकाल पठाउनेछु;  
तब अन्न अथवा पानीको तिर्खाको अनिकाल होइन,  
तर याहवेहको वचन सुन्ने तिर्सनाको अनिकाल हुनेछ।   
12 याहवेहको वचनको खोजी गर्दै मानिसहरू,  
एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्;  
अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्,  
तर तिनीहरूले भेट्टाउनेछैनन्।”   
13 त्यस दिन,  
“सुन्दरी युवतीहरू र बलिया युवाहरू  
तिर्खाले मूर्च्छा पर्नेछन्।   
14 सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्,  
‘तिम्रो देवता दानको जीवनको शपथ,’  
‘बेर्शेबाको देवताको जीवनको शपथ,’  
तिनीहरू सबै ढल्नेछन्, फेरि कहिल्यै उठ्न सक्नेछैनन्।”