होशेको भविष्यवाणी   
1
1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो:   
   
 
होशेकी पत्नी र छोराछोरीहरू 
 
2 जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्वासघात गरेर व्यभिचारको दोषी भएको छ।”  
3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई।   
4 अनि याहवेहले होशेलाई भन्नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु।  
5 त्यस दिन म यिजरेलको बेँसीमा इस्राएलका सैन्य शक्तिलाई नाश पारिदिनेछु।”   
6 गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्नुभयो, “त्यसलाई लो-रूहामा नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ।  
7 तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्वरद्वारा बचाउनेछु।”   
8 गोमेरले लो-रूहामालाई दूध छुटाएपछि उसले अर्को छोरा जन्माई।  
9 तब याहवेहले भन्नुभयो, “त्यसलाई लो-अम्मी नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्वर होइनँ।   
10 “तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्न सकिँदैन, न त गन्न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्वरका सन्तान’ भनिनेछ।  
11 यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू फेरि भेला हुनेछन्; तिनीहरूले एक जना अगुवा नियुक्त गर्नेछन् र निर्वासनबाट फर्किएर आउनेछन्; किनकि त्यो दिन यिजरेलको लागि महान् हुनेछ।