2
1 “आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।   
इस्राएलको दण्ड र पुनर्स्थापना 
 
2 “आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ;  
किनकि त्यो मेरी पत्नी होइनँ,  
र म पनि त्यसको पति होइनँ।  
त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप  
र आफ्नो स्तनको बीचबाट विश्वासघातलाई हटाओस्।   
3 नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु,  
र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु;  
म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु;  
त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु,  
र त्यसलाई तिर्खाले मार्नेछु।   
4 म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ;  
किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।   
5 तिनीहरूकी आमाले विश्वासघात गरेकी छे,  
र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे।  
त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु,  
जसले मलाई मेरो भोजन, पानी,  
ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’   
6 यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु;  
त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।   
7 त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे,  
तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन;  
त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन।  
तब त्यसले भन्नेछे,  
“म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु;  
किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”   
8 त्यसले बुझेकै छैन,  
त्यसलाई अन्न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ;  
मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ,  
तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।   
   
 
9 “यसकारण जब मेरो अन्न पाक्छ,  
र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु।  
त्यसको नग्नता ढाक्नलाई तयार गरिएको  
मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।   
10 यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु  
त्यसलाई नाङ्गो पारिदिनेछु;  
कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।   
11 म त्यसका सबै उत्सवहरू:  
त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू,  
त्यसका शब्बाथ दिनहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।   
12 म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्ट गरिदिनेछु,  
जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे;  
म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु,  
र जङ्गली जनावरहरूले ती खानेछन्।   
13 बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले  
म त्यसलाई दण्ड दिनेछु;  
त्यसले आफूलाई गरगहनाहरूले सिँगारी,  
र आफ्ना प्रेमीहरूको पछि लागी,  
तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।   
   
 
14 “यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु;  
म त्यसलाई उजाडस्थानमा डोर्याउनेछु,  
र त्यससँग मायालु कुरा गर्नेछु।   
15 त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु,  
र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु।  
त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ,  
इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”   
   
 
16 याहवेह घोषणा गर्नुहुन्छ,  
“त्यस दिन तैँले मलाई ‘मेरो मालिक’;  
भन्न छोडेर ‘मेरा पति’ भन्नेछस्।   
17 म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु;  
तिनीहरूका नामको उच्चारण फेरि कहिल्यै पनि हुनेछैन।   
18 त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू,  
आकाशका चराचुरुङ्गीहरू  
र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु।  
म देशबाट धनु, तरवार  
र युद्ध हटाइदिनेछु,  
ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।   
19 म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु;  
म तँलाई धार्मिकतामा र न्यायमा,  
प्रेममा र दयामा दुलही बनाउनेछु।   
20 म तँलाई विश्वासयोग्यतामा दुलही बनाउनेछु;  
अनि तैँले याहवेहलाई चिन्नेछस्।”   
   
 
21 याहवेह घोषणा गर्नुहुन्छ,  
“त्यस दिन म जवाफ दिनेछु,  
म आकाशलाई जवाफ दिनेछु,  
र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;   
22 अनि पृथ्वीले अन्नलाई;  
नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ,  
र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।   
23 म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;  
मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु।  
मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ,  
त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्नेछु;  
अनि तिनीहरूले भन्नेछन्, ‘तपाईं मेरो परमेश्वर हुनुहुन्छ।’ ”