10
1 इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो;  
त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो।  
जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो,  
तब त्यसले धेरै वेदीहरू बनायो;  
जब त्यसको देशको समृद्धि भयो,  
तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्यो।   
2 तिनीहरूको हृदय छली छ;  
अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ।  
याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ;  
अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्ट पार्नुहुनेछ।   
   
 
3 तब तिनीहरूले भन्नेछन्, “हामीले याहवेहलाई  
आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्।  
तर यदि हामीसित राजा भए तापनि  
तिनले हाम्रा निम्ति के गर्न सक्थे र?”   
4 तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्,  
झूटो शपथ खान्छन्  
र सहमति जनाउँछन्;  
त्यसैले जोतिएको जमिनमा उम्रेका  
विषालु झारहरूझैँ अन्याय मौलाउँछ।   
5 सामरियामा बसोबास गर्ने मानिसहरू  
बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्।  
र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्;  
तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए;  
त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्;  
किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।   
6 त्यसलाई महान् राजाको निम्ति  
सौगातको रूपमा अश्शूर देशमा लगिनेछ।  
एफ्राइम अपमानित हुनेछ;  
इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।   
7 सामरियाको राजा नष्ट हुनेछ,  
त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ।   
8 दुष्टताका अग्ला-अग्ला डाँडाहरू नष्ट पारिनेछन्;  
यो इस्राएलको पाप हो।  
काँडा र सिउँडीहरू बढ्नेछन्,  
र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्।  
त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!”  
र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!”   
   
 
9 “हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ,  
र तिमीहरू त्यही पापमा छौ।  
के गेबामा भएका दुष्ट काम गर्ने मानिसहरू  
फेरि युद्धमा पर्दैनन् र?   
10 म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु;  
तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाई  
तिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्।   
11 एफ्राइम दाइँ गर्न रुचाउने  
तालिमद्वारा सधाइएकी कोरली हो;  
यसकारण म त्यसको सुन्दर काँधमाथि  
गह्रौँ जुवा हालिदिनेछु।  
म एफ्राइमलाई धपाउनेछु,  
यहूदाले चाहिँ जोत्नुपर्छ  
र याकोबले जमिन फुटाउनुपर्नेछ।   
12 आफ्नो निम्ति धार्मिकताको बिउ छर!  
अचुक प्रेमको फसलको कटनी गर!  
र तिमीहरूका नजोतिएका जमिनलाई जोत;  
किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो;  
अनि उहाँ आउनुहुन्छ  
र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।   
13 तर तिमीहरूले दुष्टता रोपेका छौ,  
र तिमीहरूले पापको कटनी गरेका छौ;  
तिमीहरूले छलको फल खाएका छौ।  
अनि तिमीहरूले आफ्नै सामर्थ्य  
र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण   
14 तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्;  
युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ  
तिमीहरूका सबै बलिया किल्लाहरू नष्ट हुनेछन्;  
जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै  
भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।   
15 हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ;  
किनकि तेरो दुष्टता धेरै छ।  
त्यो दिन आएपछि,  
इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।