11
इस्राएलको निम्ति परमेश्वरको प्रेम 
 
1 “इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ,  
मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।   
2 तर मैले इस्राएललाई जति धेरै बोलाएँ,  
तिनीहरू मदेखि उति नै धेरै टाढा गए।  
तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए,  
र तिनीहरूले मूर्तिहरूलाई धूप बाले।   
3 एफ्राइमलाई आफ्नो अँगालोमा राखेर,  
तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ;  
तर तिनीहरूले जानेनन्,  
कि मैले नै तिनीहरूलाई निको पारेको हुँ।   
4 मैले तिनीहरूलाई मानवीय प्रेम  
र दयाको डोरीले बाँधेर डोर्याएँ;  
मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै  
मायाले उठाएर आफ्नो गालामा टसाएँ  
र तिनीहरूलाई खुवाउन म निहुरेँ।   
   
 
5 “तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरेको कारण  
के तिनीहरू इजिप्टमा फर्कनेछैनन्  
र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र?   
6 तिनीहरूका सहरहरूमा तरवार घुम्नेछ;  
तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्,  
र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्।   
7 मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्चय गरेका छन्।  
तिनीहरूले मलाई सर्वोच्च परमेश्वर भनी पुकारे तापनि  
म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन।   
   
 
8 “हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु?  
हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु?  
म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु?  
म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु?  
मेरो हृदय मभित्र बदलिएको छ;  
मेरो मनमा दया जागेको छ।   
9 म मेरो भयानक क्रोध पोख्नेछैनँ;  
म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ।  
किनकि म त परमेश्वर हुँ, मानिस होइनँ;  
तिमीहरूका बीचमा रहने पवित्र परमेश्वर हुँ।  
म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।   
10 तिनीहरूले याहवेहलाई पछ्याउनेछन्;  
उहाँ सिंहजस्तै गर्जनुहुनेछ।  
जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू  
काम्दै पश्चिमबाट आउनेछन्।   
11 तिनीहरू इजिप्टबाट आउनेछन्,  
भँगेराहरूझैँ काँप्दै आउनेछन्,  
र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्।  
म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
इस्राएलको पाप 
 
12 एफ्राइमले मलाई झूटले,  
र इस्राएलले मलाई छलले घेरेको छ।  
यहूदाले अझै परमेश्वरको विरुद्धमा,  
विश्वासयोग्य पवित्र परमेश्वरको विरुद्धमा विद्रोह गर्छ।