4
इस्राएलको विरुद्धमा आरोप 
 
1 हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन,  
देशमा बस्नेहरूको विरुद्धमा  
याहवेहले दोष लगाउनुभएको छ:  
“यस देशमा विश्वासयोग्यता छैन, न त प्रेम नै छ;  
परमेश्वरलाई स्वीकार गर्ने कोही पनि छैन।   
2 यहाँ श्राप, झूट र हत्या,  
चोरी र व्यभिचार मात्र छन्;  
तिनीहरूले सबै सीमाहरू नाघेका छन्;  
अनि रक्तपातमाथि रक्तपात गर्दछन्।   
3 यसकारण देश उजाड भएको छ;  
अनि देशमा बस्ने सबै मानिसहरू नष्ट भएका छन्;  
जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू  
र समुद्रका माछाहरू समेत नष्ट भएका छन्।   
   
 
4 “तर कुनै पनि मानिसले आरोप नलगाओस्,  
न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्;  
किनकि तिमीहरूका मानिसहरू  
पुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्।   
5 तिमीहरू दिनरात ठक्कर खान्छौ;  
अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्कर खान्छन्।  
यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु—   
6 मेरा मानिसहरू ज्ञानको अभावले नष्ट भएका छन्।  
   
 
“तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण,  
म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु;  
किनभने तिमीहरूले आफ्ना परमेश्वरको आज्ञालाई वास्ता गरेका छैनौ;  
तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।   
7 जति धेरै पुजारीहरू भए,  
तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे;  
तिनीहरूले आफ्ना महिमित परमेश्वरलाई घृणित कुराहरूसँग साटे।   
8 तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्,  
र तिनीहरूका दुष्टताको स्वाद लिन्छन्।   
9 अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्।  
म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु,  
र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।   
   
 
10 “तिनीहरूले खानेछन्, तर सन्तुष्टि हुनेछैनन्;  
तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्त हुनेछैनन्;  
तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि  
तिनीहरूले  
11 याहवेहलाई त्यागेका छन्;  
पुरानो दाखमद्य र नयाँ दाखमद्यले  
मेरा प्रजाको समझशक्ति नष्ट पारिदिन्छ।   
12 मेरा मानिसहरूले काठको मूर्तिसित सल्लाह लिन्छन्,  
र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्।  
वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ;  
तिनीहरू आफ्ना परमेश्वरप्रति अविश्वासयोग्य छन्।   
13 तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्;  
अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्;  
तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल  
र तारपीनको रूखमुनि बलिदान चढाउँछन्।  
यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा  
र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्।   
   
 
14 “जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्,  
म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ;  
न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु;  
जसले व्यभिचार गर्छन्;  
किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्,  
र देवदासीहरूसँग बलिदान चढाउँछन्—  
समझशक्ति नभएका मानिसहरू नष्ट हुनेछन्!   
   
 
15 “हे इस्राएल, तैँले व्यभिचार गरे तापनि  
यहूदाचाहिँ दोषी नठहरिओस्।  
   
 
“तिमीहरू गिलगालमा नजाओ;  
न त बेथ-आवेनमा उक्लेर जाओ।  
न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ!   
16 इस्राएलका मानिसहरू हठी छन्;  
ढीट कोरलीझैँ छन्।  
तब कसरी याहवेहले तिनीहरूलाई चरनमा  
थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त?   
17 एफ्राइम मूर्तिसँग जोडिएको छ;  
त्यसलाई आफ्नै चालमा छोडिदेओ!   
18 तिनीहरूको मद्य सकिए तापनि  
तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्;  
तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्।   
19 आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ;  
अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।