5
इस्राएलको विरुद्धमा न्याय 
 
1 “हे पुजारीहरू हो, यो कुरा सुन!  
हे इस्राएलीहरू हो, ध्यान दिएर सुन!  
हे राजकीय घराना हो, ध्यानसित सुन!  
यो न्याय तिमीहरूको विरुद्धमा छ:  
तिमीहरू मिस्पामा पासोझैँ बनेका छौ,  
र तिमीहरू तबोरमा फिँजाइराखेका जाल भएका छौ।   
2 विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्;  
म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु।   
3 म एफ्राइमको बारेमा सबै कुरा जान्दछु;  
इस्राएल मदेखि लुकेको छैनँ।  
एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्;  
इस्राएल भ्रष्ट भएको छ।   
   
 
4 “तिनीहरूका कामहरूले तिनीहरूलाई  
आफ्ना परमेश्वरतर्फ फर्कन दिँदैन।  
तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ;  
तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्।   
5 इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ;  
इस्राएल र एफ्राइम पनि आ-आफ्नो पापमा ठक्कर खानेछन्;  
तिनीहरूसँग यहूदाले पनि ठक्कर खानेछ।   
6 जब तिनीहरू याहवेहलाई खोज्न  
आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्,  
तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्;  
उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ।   
7 तिनीहरू याहवेहप्रति विश्वासघाती भएका छन्;  
तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्।  
जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्,  
तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्।   
   
 
8 “गेबामा तुरही फुक,  
रामामा बिगुल फुक।  
बेथ-आवेनमा युद्धको ध्वनि उठाओ;  
हे बेन्यामीन, अगुवाइ गर।   
9 न्यायको दिनमा  
एफ्राइमलाई उजाड पारिनेछ।  
इस्राएलका कुलहरूका बीचमा  
यी कुराहरू निश्चित छन्, म घोषणा गर्दछु।   
10 यहूदाका अगुवाहरू  
सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्।  
म तिनीहरूमाथि वर्षाको बाढीजस्तै  
मेरो क्रोध खन्याउनेछु।   
11 एफ्राइम थिचोमिचोमा परेको छ,  
न्यायमा त्यो कुल्चीमिल्ची भएको छ;  
त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ।   
12 म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु,  
र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु।   
   
 
13 “जब एफ्राइमले आफ्नो रोग देख्यो  
र यहूदाले आफ्नो चोट देख्यो,  
तब एफ्राइम अश्शूरतिर फर्क्यो,  
र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो।  
तर त्यसले तँलाई निको पार्न सक्दैन;  
त्यसले तेरा घाउ निको पार्न सक्दैन।   
14 किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै  
र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु।  
म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु;  
म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।   
15 जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्,  
र तिनीहरूले मेरो अनुहार खोज्दैनन्,  
तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु;  
अनि आफ्नो कष्टमा  
तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।”