भजन 11
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। 
 
1 याहवेहमा म शरण लिन्छु,  
तिमीहरू कसरी मलाई यसो भन्न सक्छौ:  
“चराझैँ तिम्रो डाँडामा उडिजाऊ,   
2 किनकि हेर, दुष्टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्;  
अँध्यारोबाट काँड ताकेर  
सोझो हृदय भएकाहरूलाई हान्नका निम्ति  
तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।   
3 जब जगहरू नै नष्ट पारिन्छन् भने,  
धर्मी जनहरूले के गर्न सक्छन् र?”   
   
 
4 याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ;  
याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।  
उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ;  
उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।   
5 याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ;  
तर दुष्टहरू, जसले हिंसा रुचाउँछन्,  
उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।   
6 दुष्टहरूमाथि उहाँले  
प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ;  
र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।   
   
 
7 किनकि याहवेह धर्मी हुनुहुन्छ,  
उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ;  
धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।