भजन 12
सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन। 
 
1 हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्;  
विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।   
2 हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्;  
तिनीहरूका ओठले चापलुसी गर्छन्;  
तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।   
   
 
3 सबै चापलुसी गर्ने ओठहरूलाई  
र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—   
4 तिनीहरू जसले भन्छन्,  
“हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ;  
हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”   
   
 
5 याहवेह भन्नुहुन्छ,  
“दुर्बलहरूमाथि भएको अत्याचार  
र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु,  
म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”   
6 याहवेहका वचनहरू खोटरहित छन्,  
ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।   
   
 
7 हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ,  
र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,   
8 जब मानिसहरूका बीचमा दुष्टताको सम्मान हुन्छ;  
दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्।