भजन 110
दावीदको भजन। 
 
1 याहवेहले मेरा प्रभुलाई भन्नुहुन्छ:  
   
 
“जबसम्म म तिम्रा शत्रुहरूलाई  
तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ,  
तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।”   
   
 
2 याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ,  
“आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!”   
3 तपाईंका युद्धको दिनमा  
तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्।  
पवित्रताको वैभवमा सुशोभित भई,  
तपाईंका जवानहरू  
बिहानीको गर्भबाट निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्।   
   
 
4 याहवेहले शपथ खानुभएको छ,  
र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन:  
“तिमी सदासर्वदाको निम्ति,  
मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।”   
   
 
5 प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ;  
उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ।   
6 उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ;  
अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ।   
7 उहाँले बाटो छेउको खोलाबाट पानी पिउनुहुनेछ;  
यसरी उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।