भजन 111
1 याहवेहको प्रशंसा गर!  
   
 
म मेरो सारा हृदयले,  
धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्च पार्नेछु।   
   
 
2 याहवेहका कार्यहरू महान् छन्;  
ती कार्यहरूमा प्रसन्न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।   
3 उहाँका कार्य महिमामय र ऐश्वर्यपूर्ण छन्;  
र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।   
4 उहाँले आफ्ना अद्भुत कार्यहरूको स्मरण गराउनुभएको छ;  
याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।   
5 उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ;  
र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।   
   
 
6 अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर,  
उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,   
7 उहाँका हातका कार्य विश्वासयोग्य र न्यायपूर्ण छन्;  
उहाँका सबै विधिहरू भरपर्दा छन्।   
8 ती सदासर्वदाको लागि अटल छन्,  
ती धार्मिकता र विश्वासयोग्यतामा लागू गरिएका छन्।   
9 उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो;  
उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो—  
उहाँको नाम पवित्र र भययोग्य छ।   
   
 
10 याहवेहको भय नै बुद्धिको सुरुवात हो;  
उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्।  
उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।