भजन 124
दावीदको आरोहणको गीत। 
 
1 यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए—  
इस्राएलले भनोस्—   
2 मानिसहरूले हामीलाई आक्रमण गर्दा,  
याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;   
3 तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला,  
तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए;   
4 उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो;  
अनि भल उर्लेर हामीलाई बगाउने थियो।   
5 उर्लंदो पानीले  
हामीलाई बगाएर टाढा लैजानेथियो।   
   
 
6 याहवेहलाई प्रशंसा होस्,  
जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।   
7 शिकारीको पासोबाट चरा उम्केझैँ,  
हामी उम्केका छौँ;  
तिनीहरूको पासो छिनियो,  
र हामी उम्कियौँ।   
8 स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने,  
याहवेहको नाममा हाम्रो सहायता छ।