भजन 2
1 राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्,  
अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?   
2 याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा  
पृथ्वीका राजाहरू खडा हुन्छन्,  
र शासकहरू एकजुट भएर भेला भएका छन्।   
3 तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ,  
र तिनीहरूका बन्धनहरू फुकालौँ।”   
   
 
4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ;  
प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।   
5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ,  
र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,   
6 “मैले मेरो राजालाई नियुक्त गरेको छु,  
मेरो पवित्र सियोन पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।   
   
 
7 म याहवेहको उर्दी घोषणा गर्नेछु:  
   
 
उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ;  
आज म तिम्रो पिता भएको छु।   
8 मसँग माग  
र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु,  
र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।   
9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ,  
कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”   
   
 
10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ;  
पृथ्वीका शासकहरू हो, सचेत होओ!   
11 भयसाथ याहवेहको सेवा गर,  
र कम्पनसाथ उहाँको आनन्द मनाओ।   
12 उहाँको पुत्रलाई सम्मान गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ,  
र तिमीहरूको व्यवहारले विनाशमा पुर्याउला;  
किनकि उहाँको क्रोध चाँडै दन्कन्छ।  
धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।