भजन 29
दावीदको भजन। 
 
1 हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर।  
याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।   
2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ;  
याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।   
   
 
3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ;  
महिमाका परमेश्वर गर्जनुहुन्छ;  
याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।   
4 याहवेहको आवाज शक्तिशाली छ;  
याहवेहको आवाज प्रतापी छ।   
5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्;  
याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।   
6 उहाँले लेबनानलाई एउटा बाछाझैँ,  
र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।   
7 याहवेहको आवाजले  
बिजुलीका चमकझैँ प्रहार गर्छ।   
8 याहवेहको आवाजले मरुभूमिलाई हल्लाउँदछ;  
याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।   
9 याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ,  
र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ।  
उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।   
   
 
10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ;  
याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।   
11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ;  
याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।