भजन 30
मन्दिर समर्पणको निम्ति गीत; दावीदको भजन। 
 
1 हे याहवेह, म तपाईंलाई उच्च पार्नेछु;  
किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ,  
र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन।   
2 हे याहवेह, मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ,  
र तपाईंले मलाई निको पार्नुभयो।   
3 हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ;  
तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।   
   
 
4 हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ;  
उहाँको पवित्र नामको स्तुति गर।   
5 किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;  
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;  
रुवाइ रातभरि मात्र रहन्छ,  
तर बिहान आनन्द आइहाल्छ।   
   
 
6 जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ,  
“म कहिल्यै ढलपल हुनेछैनँ।”   
7 हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्टि राख्नुभयो,  
तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो;  
तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,  
म निराश भएँ।   
   
 
8 हे याहवेह, तपाईंलाई मैले पुकारेँ;  
प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ;   
9 “यदि मेरो विनाश भयो भने,  
यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र?  
के धुलोले तपाईंको प्रशंसा गर्छ र?  
के त्यसले तपाईंको विश्वसनीयताको घोषणा गर्छ र?   
10 हे याहवेह, मेरो बिन्ती सुन्नुहोस् र ममाथि कृपालु हुनुहोस्;  
हे याहवेह, तपाईं मेरो सहायक बन्नुहोस्।”   
   
 
11 तपाईंले मेरो विलापलाई उल्लासमय नाचमा परिवर्तन गर्नुभयो;  
तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो  
र आनन्दको वस्त्र पहिर्याइदिनुभयो,   
12 ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्।  
हे याहवेह, मेरा परमेश्वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।