10
याहवेहले यहूदाको वास्ता गर्नुहुनेछ 
 
1 वसन्त ऋतुको समयमा याहवेहसित झरी माग;  
याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ।  
उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ;  
अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ।   
2 मूर्तिहरूले छलका कुरा गर्छन्,  
जोखना हेर्नेहरूले झूटो दर्शन देख्छन्;  
तिनीहरूले झूटो सपना भन्छन्,  
तिनीहरूले व्यर्थमा सान्त्वना दिन्छन्।  
यसैकारण गोठालाको कमीले गर्दा  
मानिसहरू अत्याचारमा परेका भेडाझैँ बरालिन्छन्।   
   
 
3 “गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ;  
अनि म अगुवाहरूलाई दण्ड दिनेछु;  
किनकि सेनाहरूका याहवेहले  
आफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ;  
अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ।   
4 यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ;  
तिनीबाट पालको खाँबो,  
लडाइँको धनु,  
र हरेक शासक आउनेछ।   
5 तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ  
तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्।  
तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ;  
अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्।   
   
 
6 “म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु,  
र योसेफको घरानालाई बचाउनेछु।  
म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु;  
किनकि मलाई तिनीहरूप्रति दया भएको कारण  
तिनीहरू यस्ता हुनेछन्, मानौ  
मैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ;  
किनकि म याहवेह तिनीहरूका परमेश्वर हुँ;  
अनि म तिनीहरूलाई जवाफ दिनेछु।   
7 एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्;  
अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्।  
तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्;  
तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्।   
8 म तिनीहरूलाई इशारा गर्नेछु,  
र तिनीहरूलाई भित्र भेला गर्नेछु।  
निश्चय नै म तिनीहरूलाई छुटाउनेछु;  
तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्।   
9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि  
तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्।  
तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्;  
अनि तिनीहरू फर्कनेछन्।   
10 म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु,  
र तिनीहरूलाई अश्शूरबाट जम्मा गर्नेछु।  
म तिनीहरूलाई गिलाद र लेबनानमा ल्याउनेछु;  
अनि ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।   
11 तिनीहरू कष्टको सागरबाट पार भएर जाँदा,  
छाल उर्लेको सागरलाई शान्त गराइनेछ;  
अनि नील नदीका सबै गहिराइहरू सुकिजानेछन्।  
अश्शूरको अहङ्कार चकनाचुर पारिनेछ,  
र इजिप्टले आफ्नो राजदण्ड गुमाउनेछ।   
12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु;  
अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,”  
याहवेह घोषणा गर्नुहुन्छ।