9
इस्राएलका शत्रुहरूमाथि दण्ड 
 
1 एक अगमवाणी:  
याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ,  
र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ;  
किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूका  
आँखा याहवेहमाथि नै छन्;   
2 अनि उहाँको दृष्टि हमातमाथि पनि छ, जो त्यसको सिमानामा छ;  
अनि टायर र सीदोनमाथि छ, तथापि तिनीहरू अति धेरै दक्ष छन्।   
3 टायरले आफ्नो लागि एउटा बलियो किल्ला बनाएको छ;  
त्यसले चाँदी धुलोझैँ,  
र सुन सडकको फोहोरझैँ थुपारेको छ।   
4 तर प्रभुले त्यसको सम्पत्ति खोस्नुहुनेछ,  
र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ;  
अनि त्यो आगोद्वारा भस्म हुनेछ।   
5 अश्कलोनले त्यो देख्नेछ र डराउनेछ;  
गाजा सहर कष्टले छटपटाउनेछ;  
अनि एक्रोन सहर पनि त्यसको आशा हराउनेछ,  
र गाजा सहरले आफ्नो राजा गुमाउनेछ;  
अनि अश्कलोन उजाड हुनेछ।   
6 विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्;  
अनि म पलिश्तीहरूको घमण्डलाई नष्ट गरिदिनेछु।   
7 म तिनीहरूका मुखबाट रगत  
र तिनीहरूका दाँतका बीचबाट घृणित कुरा खोस्नेछु।  
तिनीहरूबाट बचेका जतिचाहिँ हाम्रा परमेश्वरका हुनेछन्,  
र तिनीहरू यहूदाको वंशजस्तै हुनेछन्;  
एक्रोनचाहिँ यबूसीहरूजस्ता हुनेछन्।   
8 तर म मेरो भवनलाई आक्रमणकारीबाट  
रक्षा गर्न चारैतिर छाउनी बनाउनेछु।  
कुनै पनि अत्याचारीले मेरा मानिसहरूलाई फेरि कहिल्यै जित्नेछैन;  
किनकि अहिले मैले निगरानी गरिरहेको छु।   
सियोनका राजाको आगमन 
 
9 हे सियोनकी छोरी, खूब आनन्द गर्!  
यरूशलेमकी छोरी, चर्को सोरमा करा!  
हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ;  
उहाँ धार्मिक र विजयी हुनुहुन्छ;  
नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ;  
गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।   
10 म एफ्राइमबाट लडाइँका रथहरू  
र यरूशलेमबाट युद्धका घोडाहरू नष्ट गर्नेछु;  
अनि युद्धको धनु भाँचिनेछ।  
उहाँले राष्ट्रहरूलाई शान्ति घोषणा गर्नुहुनेछ।  
उहाँको राज्य शासन एउटा समुद्रदेखि अर्को समुद्रसम्म  
र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म नै फैलिनेछ।   
11 तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण,  
म तेरा कैदीहरूलाई पानीविनाको खाडलबाट मुक्त गरिदिनेछु।   
12 हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्लातिर फर्क;  
अहिले पनि म घोषणा गर्छु, कि म तिमीहरूलाई दोबर गरी पुनर्स्थापित गर्नेछु।   
13 म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु,  
र त्यसलाई एफ्राइमले भरिदिनेछु।  
हे सियोन, म तेरा छोराहरूलाई,  
ग्रीसका छोराहरूको विरुद्धमा सुर्याउनेछु;  
अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु।   
याहवेह देखा पर्नुहुनेछ 
 
14 त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ;  
उहाँको वाण बिजुलीझैँ चम्कनेछ।  
सर्वशक्तिमान् याहवेहले तुरही फुक्नुहुनेछ;  
उहाँ दक्षिणका आँधीहरूमा आउनुहुनेछ;   
15 अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ।  
तिनीहरूले नाश गर्नेछन्,  
र घुयेँत्रोका ढुङ्गाहरूले परास्त गर्नेछन्।  
तिनीहरूले पिउनेछन् र मद्य पिएझैँ गर्जनेछन्;  
तिनीहरू वेदीका कुनाहरूमा राखिएका  
ठूला-ठूला छर्कने कचौराजस्तै भरिनेछन्।   
16 त्यस दिन याहवेह तिनीहरूका परमेश्वरले  
गोठालोले आफ्ना बगाललाई बचाएझैँ बचाउनुहुनेछ।  
उहाँको देशमा तिनीहरू  
मुकुटका चम्किला रत्नझैँ चम्कनेछन्।   
17 तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्!  
जवान मानिसहरू अन्नले हृष्टपुष्ट हुनेछन्,  
र जवान स्त्रीहरूचाहिँ नयाँ दाखमद्यले आनन्दित हुनेछन्।