सपन्याहको भविष्यवाणी   
1
1 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:   
   
 
याहवेहको दिनमा सारा पृथ्वीको न्याय 
 
2 “म पृथ्वीको सतहबाट  
सबै थोक नाश गर्नेछु,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
3 “म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु;  
म आकाशका पक्षीहरू  
र समुद्रका माछाहरूलाई नाश गर्नेछु।  
दुष्टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।”  
   
 
“अनि म सबै मानव-जातिलाई  
पृथ्वीको सतहबाट मेटिदिनेछु,”  
याहवेह घोषणा गर्नुहुन्छ।   
4 “म यहूदाको विरुद्धमा  
र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु।  
यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई,  
र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु;   
5 तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि  
आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू,  
दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू  
र मोलेख देवताको नाममा पनि शपथ खानेहरू,   
6 याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू;  
अनि याहवेहको खोजी नगर्नेहरू,  
र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।”   
   
 
7 प्रभु याहवेहको सामु चुपचाप बस;  
किनकि याहवेहको दिन नजिकै छ।  
याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ;  
अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।   
   
 
8 “याहवेहको बलिदानको दिन,  
म अगुवाहरू  
र राजाका छोराहरू;  
अनि विदेशी कपडा लगाउनेहरू  
सबैलाई दण्ड दिनेछु।   
9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू,  
आफ्ना देवताहरूका मन्दिरलाई हिंसा  
र छलले भर्नेहरू सबैलाई  
म दण्ड दिनेछु।   
   
 
10 “त्यस दिन”  
याहवेह भन्नुहुन्छ,  
“माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ;  
सहरका नयाँ टोलबाट विलाप  
र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।   
11 तिमी बजारमा बास बस्नेहरू, विलाप गर;  
तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्,  
चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।   
12 त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु,  
र आफैँमा ढुक्क भएर बस्नेहरू,  
जो मद्यका थिग्राजस्तै छन्,  
जसले, ‘याहवेहले न असल, न त खराब नै  
गर्नुहुन्छ’ भन्नेहरूलाई दण्ड दिनेछु।   
13 तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्,  
तिनीहरूका घरहरू भत्काइनेछन्।  
तिनीहरूले घर बनाउनेछन्,  
तर त्यसमा तिनीहरू बस्न पाउनेछैनन्;  
तिनीहरूले दाखबारी लगाउनेछन्,  
तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।”   
   
 
14 याहवेहको महान् दिन नजिकै छ—  
त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ।  
याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ;  
त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।   
15 त्यो दिन क्रोधको दिन हुनेछ—  
सङ्कष्ट र वेदनाको दिन,  
कष्ट र सर्वनाशको दिन,  
अन्धकार र निराशाको दिन,  
बादल र घोर अन्धकारको दिन।   
16 सुरक्षित किल्ला भएका सहरहरूका विरुद्धमा  
र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा  
तुरही र लडाइँको आवाज सुनिने दिन।   
   
 
17 “म सबै मानिसहरूमाथि यस्तो सङ्कष्ट ल्याउनेछु,  
कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्;  
किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्।  
तिनीहरूको रगत धुलोझैँ  
र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।   
18 तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,  
न त तिनीहरूका सुनले,  
न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।”  
   
 
उहाँको डाहको आगोमा  
सारा संसार भस्म पारिनेछ;  
किनकि यस पृथ्वीमा बसोबास गर्ने  
सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।