2
यहूदा र यरूशलेमको पनि अरू राष्ट्रहरूसँगै न्याय गरिएको 
 
यहूदालाई पश्चात्ताप गर्नलाई बोलाइयो 
 
1 ए लाज नभएको राष्ट्र,  
एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ!   
2 जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि,  
र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि,  
याहवेहको भयङ्कर क्रोध  
तिमीहरूमाथि आउनुभन्दा अगि,  
र याहवेहको क्रोधको दिन  
तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै।   
3 हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ,  
तिमीहरूले याहवेहको खोजी गर।  
धार्मिकता र नम्रताको खोजी गर;  
सायद याहवेहको क्रोधको दिनमा  
तिमीहरूले शरण पाउनेछौ।   
पलिश्ती 
 
4 गाजालाई त्यागिनेछ,  
र अश्कलोनलाई उजाड पारिनेछ।  
मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ  
र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ।   
5 समुद्रका छेउमा बसोबास गर्ने,  
हे करेतीहरू हो, तिमीहरूलाई धिक्कार छ;  
हे पलिश्तीहरूको देश, कनान,  
याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ,  
उहाँले भन्नुहुन्छ, “म तँलाई नाश पार्नेछु,  
कोही पनि जीवित छोडिनेछैन।”   
6 समुद्री किनारको देशचाहिँ खर्क हुनेछ,  
जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ  
र भेडाहरूका निम्ति गोठ हुनेछ।   
7 त्यो समुद्री किनारको भूमि  
यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ;  
त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्।  
राति तिनीहरू अश्कलोनका  
घरहरूमा सुत्नेछन्।  
याहवेह, तिनीहरूका परमेश्वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ;  
उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ।   
मोआब र अम्मोन 
 
8 “मैले मोआबले गरेको अपमान  
र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु,  
जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्,  
र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।   
9 यसकारण म जीवित भएझैँ,”  
सेनाहरूका याहवेह,  
इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ,  
“निश्चय नै मोआब सदोमजस्तै र  
अम्मोनीहरू गमोराजस्तै हुनेछन्;  
सामा र नुनका खाडलैखाडल भएको ठाउँ,  
र सधैँका निम्ति रुखो जमिन हुनेछन्।  
मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्;  
मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।”   
   
 
10 तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका  
मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा  
तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्।   
11 याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ,  
जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्ट गर्नुहुन्छ।  
उहाँलाई टाढाका राष्ट्रहरूले  
आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।   
कूश 
 
12 “हे कूशका मानिसहरू हो,  
तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”   
अश्शूर 
 
13 उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ,  
र अश्शूरलाई नाश गर्नुहुनेछ;  
अनि निनवेलाई पूरै उजाड  
र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।   
14 त्यहाँ सबै किसिमका जीवजन्तुका  
बथान र बगालले आराम गर्नेछन्;  
मरुभूमिको उल्लु र कराउने उल्लुहरूले  
त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्।  
झ्यालहरूबाट ती उल्लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्;  
ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्,  
र देवदारुका चौकसहरू उदाङ्गिनेछन्।   
15 यो त्यही घमण्डी सहर हो,  
जुन सुरक्षितसाथ निर्धक्क बस्दथ्यो।  
त्यसले आफूलाई भनेकी थिई,  
“म नै हुँ, र मबाहेक अरू कोही छैन!”  
अहिले त्यसको कस्तो विनाश भएको छ!  
त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ!  
त्यहाँबाट भएर जानेहरू सबैले  
त्यसलाई आफ्नो मुक्का देखाएर खिसी गर्नेछन्।